ट्रेन्डिङ

वीरगन्जमा ट्याङ्की र ट्याङ्करमार्फत पानी वितरण

वीरगन्ज । भू–जल सतह घटेपछि वीरगन्जमा पानीको चरम अभाव भएको छ ।

चापाकलहरू सुक्न थालेपछि यहाँ पानीको हाहाकार मच्चिएको छ । खाना पकाउने, सरसफाइ, पशुपालन जस्ता आधारभूत कामसमेत प्रभावित बनेका छन् ।

यहि समस्यालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको छ । खानेपानी संस्थानबाट सेवा नपुगेका ठाउँहरूमा बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्‍याउने काम तीव्र पारिएको हो ।

पानी अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरण व्यवस्था गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले पानीको चरम संकटलाई प्राकृतिक आपत्‌को रूपमा व्याख्या गर्दै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो सामान्य संकट होइन, गम्भीर प्राकृतिक अवस्था हो । तत्काल राहतसँगै दीर्घकालीन समाधानमा पनि हामी क्रियाशील छौं ।’

महानगरले खानेपानी संस्थानसँग समन्वय गरी केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरेको छ । सीमित स्रोतबीच पनि ३२ वटै वडामा पानी पुगोस् भन्ने लक्ष्यसहित वितरण तालिका लागू गरिएको छ ।

महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिएको छ । महानगरले पानी संकटको समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महानगरले आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली र भू–जल व्यवस्थापनका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै