बारा । जिल्ला प्रहरी कार्यालय, बाराले आज बिहान करिब १ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामानसहित एउटा डिब्बा ट्रक (कन्टेनर) नियन्त्रणमा लिएको छ।
बरामद गरिएका सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय, बाराद्वारा जारी विज्ञप्तिअनुसार, मंगलबार बिहान करिब १ः३० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमान्डमा खटिएको चेकिङ टोलीले यो सफलता हासिल गरेको हो। जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्जस्थित कार्यालयअगाडिको चेक प्वाइन्टमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई रोकेर चेकजाँच गर्दा अवैध सामानहरू फेला परेका थिए।
प्रहरीले दिएको जानकारीअनुसार, ट्रकमा बिलबिजकभन्दा फरक र भन्सार नगरिएका कस्मेटिक सामान, नरिवल, बदाम (आल्मोन), कपडा, सर्जिकल सामान, इलेक्ट्रिक सामान, मोबाइलका पाटपुर्जा र औषधिजन्य सामानहरू थिए। यी सबैको अनुमानित मूल्य १ करोड २५ लाख २४ हजार १० रुपैयाँ रहेको छ।
प्रहरीले अवैध सामानसहितको ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ।