ट्रेन्डिङ

रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान : जेठमा भित्रियो १७६ अर्ब

वीरगन्ज । नेपालमा रेमिट्यान्स आप्रवाहले फेरि नयाँ रेकर्ड कायम गरेको छ। जेठ महिनामा १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन एकै महिनामा भित्रिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। यसअघि वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो। गत वर्ष जेठमा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

अमेरिकी डलरमा हेर्दा, समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो। यस अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँभन्दा बढी हो।

यस ११ महिनाको अवधिमा ४ लाख ५२ हजार ३२४ जनाले नयाँ श्रम स्वीकृति लिएर विदेश गएका छन् भने ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुनु पनि रेमिट्यान्स आप्रवाह बढ्नुको एक प्रमुख कारण मानिएको छ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यो नयाँ रेकर्डले विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै