वीरगन्ज । नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएको छ।
यस बाढीमा परी १८ जना बेपत्ता भएका छन् भने नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ। बेपत्ता हुनेमा तीन जना नेपाली प्रहरी र ६ जना चिनियाँ नागरिक समेत रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पुष्टि गरेका छन्।
बाढीको चपेटामा परी बेपत्ता भएका १८ जनामध्ये केहीको परिचय खुलेको छ । नेपाल प्रहरी इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् । त्यसैगरी ६ जना चिनियाँ नागरिक रहेका छन् ।
अन्य नेपाली नागरिकमा बर्दिया स्थायी घर भएका जीवन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्सर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ रहेका छन् ।
बाढीको खबर पाउनासाथ नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले जानकारी दिएका छन्। बाढीले स्याँफ्रुबेँसी–रसुवागढी सडकखण्ड ठाउँठाउँमा क्षति पुर्याउँदा यातायात सेवा अवरुद्ध भएको छ।
यसका साथै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ। टिमुरेस्थित भन्सार यार्ड र त्यहाँ रहेका मालवाहक ट्रकहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रामहरि खड्काले बताएका छन्।
रसुवामा आकस्मिक बाढी आएलगत्तै सरकारले केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आह्वान गरेको छ। यो बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने प्राधिकरणले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो राति करिब ३ बजे आसपास तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको हो। महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार रसुवा–टिमुरेस्थित जलविद्युत आयोजनाको स्वचालित जलमापन केन्द्रमा जलसतह करिब ३.५ मिटर बढेको देखिएको थियो।
त्यसपछि, रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको स्याप्रेबेसी स्वचालित केन्द्रमा बिहान ३ः३० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको थियो। महाशाखाका अनुसार, उक्त मापन केन्द्र नै बाढीले बगाएका कारण तथ्यांक सम्प्रेषण बन्द भएको हो।
प्रारम्भिक अध्ययनअनुसार, यो बाढी हिमताल फुटेर आएको हुन सक्ने आकलन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन्। उनले अत्यावश्यक बाहेकका निर्धारित कार्यक्रमहरू स्थगित गरी प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको र सरकारी निकायहरूलाई उद्धारमा कुनै कमी हुन नदिन निर्देशन दिइएको बताएका छन्। उनले यस दुःखद घडीमा सबैको सहयोगको अपेक्षा गर्दै बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन्।