वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान रामको जन्म भएको यथार्थ बोल्न कोही पनि डराउन नपर्ने बताएका छन् ।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन ः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमै जन्मिएको आफ्नो दाबीलाई पुनः दोहोऱ्याएका हुन् ।
‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानो ठाउँमा जन्मिएको भनेर‘,’ प्रधानमन्त्री ओलीले भने, ‘राम जन्मिएका नेपालमा हो। नेपालको भूमिमा पर्छ त्यो ठाउँ। उतिबेला पनि नेपालमै थियो भन्दिनँ म। के थियो के थिएन । अहिले त्यो भूभाग नेपालमा पर्छ।’
प्रधानमन्त्री ओलीले सत्य कुरा बोल्दा कोही रिसाउँछ कि भनेर डराउन नहुने तर्क गरे । उनले भने, ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो। जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो। यति प्रचार गर्न सक्दैनौँ हामी, यति भन्न सक्दैनौँ, यति आँट गर्दैनौँ। अप्ठ्यारो लाग्छ। को रिसाउँछ जस्तो लाग्छ।’ उनले प्रश्न गर्नुभयो, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौँ ?’
उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको दाबी गरे । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन्। मैले लेखेको होइन नि रामायण ।’ प्रधानमन्त्री ओलीले वाल्मीकि रामायणमा राम–लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग उल्लेख रहेको सुनाए । ‘त्यो मैले लेखेको होइन नि। कोशी तरेर गएका हुन् भन्ने स्पष्ट छ। कोशीको किनारमा बस्ने भएकोले उनको नाम कौशिक राखिएको हो,’ उनले भने ।