ट्रेन्डिङ

नेता अशोक यादवको अर्को भिडिओ : भारतसँग शरणको आग्रह, ‘मधेशमाथिको दमन र विभेद कायमै’

वीरगन्ज । नेपाल प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले एक भिडिओ वक्तव्य जारी गर्दै आफूमाथिको कारबाहीलाई राजनीतिक रंग दिन खोजेको आरोप लगाएका छन् । उनले उक्त भिडिओमा मधेश नेपालबाट अलग भएरै छाड्ने विवादास्पद अभिव्यक्ति समेत दिएका छन्।

अज्ञात स्थलबाट हिन्दी भाषामा जारी गरिएको भिडिओमा यादवले भारतको बिहार राज्य सरकारलाई सहयोगको लागि आग्रह गरेका छन् । आफूमाथि नेपालमा शोषण र दमन भएको आरोप लगाउँदै उनले विदेशी राज्यसँग याचना गरेका हुन्।

यादवले प्रहरीले राति कार्यालय खोलेर कमिसन उठाएको आरोप लगाउँदै, यसबारे एसपीसँग कुरा गर्दा आफूलाई ‘साले’ भनेर गाली गरेको बताएका छन् । ‘मलाई जनताले यस्तो कुरा सुनाउँदा सुरुमा त विश्वास भएन। तर फोटो नै पठाएपछि म आफैँ गए र एसपीसँग कुरा गरेँ। एसपीले मलाई साले भनेर गाली दियो। म पनि आन्दोलनकारी हुँ। मेरो मुखबाट पनि केही शब्द निस्किए,’ उनले भिडिओमा भनेका छन्।

यादवले विगतमा मधेशमा नागरिकता लगायतका विषयमा दमन भएको र त्यसको खिलाफमा भएको मधेश जनविद्रोहमा आफू पनि सामेल भएको बताएका छन्। उनले जनताको शक्तिका कारण आफू बाहिर रहेको र मधेश सरकार गठन भएको जिकिर समेत गरेका छन्।

भारतले नेपालका सबै आन्दोलनकारीलाई शरण दिँदै आएको स्मरण गराउँदै यादवले नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न कुनै सहयोग मागेमा भारत सरकारलाई सहयोग नगर्न आग्रह गरेका छन्। उनले सर्लाहीका एसपी र डीएसपीले ‘गुण्डागर्दी’ गरेको र आफ्ना आफन्तको घरमा छापा मारेको आरोप लगाएका छन्।

‘म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो। हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ। यसमा भारतको सपोर्ट मिल्नुपर्छ। भारत र बिहारको साथ नभए हामीमाथि अझै अन्याय हुन्थ्यो,’ उनले भनेका छन्, ‘म बिहारका पुलिस प्रशासनलाई आग्रह गर्छु कि नेपालको एसपीले भनेर कुनै पनि कदम नउठाउनु। उनीहरू नश्लीय भेदभाव गर्ने मान्छेहरू हुन्।’

ुभिडिओको अन्त्यमा यादवले नेपालमा मधेशीहरूमाथि दमन र शोषण हुँदै आएको र खसवादीहरूले आज पनि मधेशीलाई दोस्रो दर्जाको नागरिक भनिरहेको आरोप लगाएका छन्। उनले थप भनेका छन्, ‘यो देशबाट मधेश अलग हुनुपर्छ। दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ। सीके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो। त्यो सही कुरा हो। मधेश आज नभए भोलि अलग हुन्छ। म रहूँ या नरहूँ। मधेशको अर्को पुस्ताले यो काम गर्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै