वीरगन्ज । संघीय लोकतान्त्रिक मोर्चाका भातृ संगठन विधार्थी संगठनहरूले शिक्षा ऐन र मधेशको कमजोर एसईई नतिजा प्रति चिन्ता व्यक्त गरेको छ ।
शनिबार काठमाडौँको शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले नतिजाबारे चिन्ता जाहेर गरेको छ ।
राष्ट्रिय विधार्थी मञ्चका अध्यक्ष पंकज देवको अध्यक्षतामा बसेको बैठकले शिक्षाको विषयमा गम्भीर छलफल गर्दै सामुदायिक विद्यालय गाभ्ने सरकारको प्रस्ताव संविधानको भावना र निशुल्क शिक्षा अधिकारको विपरित रहेको निष्कर्ष निकालेको छ। बैठकले उक्त प्रावधानले शिक्षामा व्यापारीकरणलाई थप बढावा दिने र राहत कोटा जस्ता व्यवस्थाहरूलाई राजनीतिक कार्यकर्ताहरू भर्ति गर्ने माध्यम बनाउने खतरा रहेको प्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकले संघीय लोकतान्त्रिक मोर्चाको विधार्थी संगठनहरूको समन्वय गर्ने गरी ‘संघीय लोकतान्त्रिक विधार्थी मोर्चा’ गठन गर्ने निर्णय गरेको छ। यसको विस्तृत संरचना, कार्यविधि र आगामी कार्यक्रमहरूको रुपरेखा अर्को बैठकमा तय गरिने छ।
हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा मधेश प्रदेशमा न्यूनतम प्रतिशतको नतिजा आएको प्रति पनि बैठकले गहिरो चिन्ता व्यक्त गर्दै यसको समीक्षा गरेको जनाएको छ।
बैठकले संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध सबै दलका अध्यक्षहरूलाई सबै निष्कर्ष र सुझावहरू जानकारी गराउने र सुझावहरू संकलन गर्ने निर्णय गरेको छ। साथै, शिक्षा ऐनमा विद्यमान विकृति र कुत्सित मानसिकता अन्त्यको मागसहित शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउने पनि निर्णय भएको छ। संघर्षका थप कार्यक्रमहरू भने अर्को बैठकमा तय गरिने बताइएको छ।
बैठकमा राष्ट्रिय विधार्थी मञ्चका संयोजक पंकज देव, विधार्थी जनमत संघका संयोजक पोषण कुमार यादव, लोकतान्त्रिक विधार्थी संघका महासचिव सुमन यादव र समाजवादी विधार्थी युनियन नेपालका उपमहासचिव प्रविन यादवको सहभागिता थियो।