ट्रेन्डिङ

‘एसपीलाई गाली गरेकोमा आत्मग्लानि छैन, म फरार पनि छैन्, १०० वटा मुद्दा खेप्न तयार छु’ : जसपा नेता यादव

वीरगन्ज । सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग टेलिफोन संवादमा ‘अपशब्द’ प्रयोग गरेको अडियो भाइरल भएपछि जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट करिब ७ मिनेटको भिडिओ पोष्ट गर्दै नेता यादवले आफू ‘निमुखा जनताको आवाज’ बोलेको दाबी गरेका छन् ।

केही दिनअघि सर्लाहीका एसपी खड्का र जसपा नेता यादवबीचको अडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो। पूर्वाधार कार्यालयको विषयलाई लिएर भएको भनिएको सो संवादमा नेता यादवले एसपी खड्कालाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै प्रहरी र सरकारी कर्मचारीमाथि भ्रष्टाचार तथा अवैध असुलीको गम्भीर आरोप लगाएका थिए। संवाद चर्किँदै गएर गालीगलौजमा परिणत भएको थियो।

‘म अपराधी होइन, मधेशको सिपाही हुँ’

जसपाका मधेश प्रदेश अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएपछि यसले सर्लाहीको राजनीतिमा हलचल मच्चाएको छ। यस घटनाबारे अशोक यादवले यादवले आफूले कुनै अपराध नगरेको तर मधेशी निमुखा जनता, शोषित, पीडित र विपन्न वर्गको पक्षमा आवाज उठाउँदै आएको बताएका छन्। उनले जिल्ला र सम्पूर्ण मधेशमा भइरहेको व्यथिति, भ्रष्टाचार र लुटतन्त्रको विरोधमा आवाज उठाउँदा राज्यले अपराधी ठानी मुद्दा चलाएमा ‘१०० वटा मुद्दा झेल्न तयार रहेको’ बताएका छन्।

‘फरार’को खण्डन र प्रहरीमाथि आरोप

मिडियामा आफू ‘फरार’ भएको भन्ने समाचारको खण्डन गर्दै, नेता यादवले आफू कहिल्यै नडराएको र मधेश माता तथा मधेशी जनताका लागि ज्यानको समेत प्रवाह नगरेको बताएका छन्। उनले प्रहरीले राति १२ बजे ‘डाका शैलीमा’ आफ्नो घरमा आएर छोरालाई कुटपिट गरी घाँटीको नशा फाटेको र हाल उपचार गराइरहेको बताएका छन् । उक्त घटनापछि ढुंगा मुढा गरी प्रहरीलाई भगाउने सेलेमपुर गाउँका जनतालाई उनले ‘स्यालुट’ गरेका छन्।

यादवले आफू मधेशको सिपाही भएको र कुनै अपराध नगरेकोले मिडियालाई अनावश्यक समाचार सम्प्रेषण नगर्न विनम्र अनुरोध गरेका छन्। उनले मधेश जनविद्रोहदेखि नै आफूमाथि धेरै मुद्दा लागेको र राज्यले मृत्युदण्ड दिए पनि स्वीकार गर्ने, तर मधेश माताको अस्तित्व र मधेशी जनताको अधिकारका लागि सधैं लडिरहने अडान व्यक्त गरेका छन्। आफूलाई ‘जिउँदो सहिद’ मान्दै, उनले मधेशको अधिकारका लागि ज्यान बलिदान दिने सहिदहरूलाई ‘स्यालुट’ गरेका छन्।

उनले एक एसपीले आफूलाई ‘सा….’ भनेर गाली गरेपछि आफूले पनि गाली गरेको स्वीकार गर्दै, त्यसमा कुनै आत्मग्लानि नभएको बताएका छन्। लोकतान्त्रिक व्यवस्थामा आफ्ना कुरा राख्न र पीडा व्यक्त गर्न डराउनु नपर्ने भन्दै, जहाँ भ्रष्टाचार र लुटतन्त्र भइरहेको छ, त्यसको विरोधमा बोल्ने बताएका छन्।

प्रशासनिक भ्रष्टाचार र तस्करलाई संरक्षणको आरोप

यादवले जिल्ला प्रशासनमा नागरिकताका लागि लाखौं रकम उठाउने र कमिसन खाने भ्रष्टाचार भइरहेको, तथा हरेक नागरिकतामा ४–५ हजार रुपैयाँ लिने गरेको आरोप लगाएका छन्। आवाज उठाउने युवाहरूलाई थुन्ने गरेको र गमरिया मलको वार्ड नम्बर ११ र १२ का केटाहरूलाई यसअघि थुनेको उदाहरण दिएका छन्।

उनले हरेक सरकारी अड्डामा भ्रष्टाचार जगजाहेर रहेको र मधेशमा आउने प्रहरी तथा प्रशासनले मोटो रकम तिरेर आएर ‘लुटतन्त्र’ मच्चाउने, बोर्डरमा तस्करी गराउने र लागूऔषधको ओसारपसार गराउने आरोप लगाएका छन्। कमजोर र निमुखा जनताले दैनिक गुजाराका लागि नुन, चिनी, प्याजजस्ता सामान्य सामान ल्याउँदा पक्राउ गर्ने तर ठूला तस्करहरूलाई रकम लिएर तस्करी गराउने प्रवृत्ति रहेको उनले बताएका छन्।

जनतालाई आह्वान र प्रहरीलाई चेतावनी

सुरक्षाको नाममा मधेशका जनतालाई दबाउने सोच हटाउन आग्रह गर्दै, आफूहरूले धेरै लडेर ठूलो क्षति भोगेको स्मरण गराएका छन्। अन्तमा, उनले मधेसी जनता, विशेषगरी शोषित, पीडित र सीमान्तकृत समुदायका साथीहरूलाई अशोक यादव सही मार्गमा चलिरहेको र उनीहरूको लागि ज्यान दिन तयार रहेको बताएका छन्।

उनले जनतालाई प्रशासन र प्रहरी प्रशासनको विरोधमा उत्रन र आफ्नो साथ दिन आग्रह गरेका छन्। आफू मलंगवा, सर्लाहीमा आउँदै गरेको र प्रहरीले आफूलाई खोज्ने कार्य केवल ‘झुटो झासा’ र मधेशी जनतालाई डराउने चाल मात्र भएको बताएका छन्।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै