वीरगन्ज। राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)ले ग्राहकहरूका लागि नयाँ भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ।
यो कार्ड नेपाल, भारत र भुटान गरी तीनवटै देशमा प्रयोग गर्न मिल्ने सुविधाका साथ सञ्चालनमा ल्याइएको हो। बैंकले सुरक्षित, सहज र सुविधाजनक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने आफ्नो उद्देश्यअनुरूप यो नयाँ सेवा सुरु गरेको जनाएको छ।
बैंकद्वारा जारी गरिएको यो क्रेडिट कार्ड एटीएम र पिओएस टर्मिनल दुवैमा प्रयोग गर्न सकिनेछ। यसका साथै, नेपाली रुपैयाँमा गरिने अनलाइन कारोबारका लागि समेत यस कार्डले सहज रूपमा काम गर्ने बैंकले बताएको छ। यसले ग्राहकहरूलाई डिजिटल भुक्तानीका लागि थप विकल्प र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
आरबीबी क्रेडिट कार्डको प्रमुख विशेषताहरूमा यसको क्षेत्रीय मान्यता पर्दछ। यो कार्ड नेपाल, भारत र भुटानमा मान्य हुनेछ, जसले विशेषगरी सीमापार यात्रा गर्ने नेपालीहरूलाई सुविधा पुर्याउनेछ। प्रयोगमा सहजताका लागि पिओएस टर्मिनल र एटीएम दुवैमा सजिलै प्रयोग गर्न सकिने गरी यो कार्ड डिजाइन गरिएको छ। यसमा क्रेडिट लिमिटको १० प्रतिशतसम्म नगद झिक्न सकिने सुविधा पनि उपलब्ध छ।
बैंकले कम ब्याजदर र कमिसन लाग्ने बताएको छ भने खरिदमा अधिकतम ४५ दिनसम्म ब्याजमुक्त अवधिको व्यवस्था समेत गरिएको छ। यो कार्डको वैधता अवधि ५ वर्ष रहने बैंकले जनाएको छ।
आरबीबी क्रेडिट कार्डको क्रेडिट लिमिट न्यूनतम २० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म तोकिएको छ। बिलिङ (स्टेटमेन्ट) प्रत्येक अंग्रेजी महिनाको २३ तारिखमा हुनेछ भने भुक्तानीको अन्तिम म्याद त्यसको १५ दिनपछि अर्थात् पछिल्लो महिनाको ८ वा ९ तारिखसम्म तोकिएको छ।
राष्ट्रिय वाणिज्य बैंकको यो पहलले डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउनुका साथै ग्राहकहरूलाई क्षेत्रीय स्तरमा समेत वित्तीय कारोबारमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ।