ट्रेन्डिङ

‘स्वार्थ समूह’ सँग नझुक्ने श्रममन्त्री भण्डारीको उद्घोष

वीरगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा व्याप्त ठगी, शोषण र जालसाजी रोक्न आफू कुनै पनि ‘स्वार्थप्रेरित शक्तिशाली समूह’ को दवाव र अवरोधको अगाडि नझुक्ने दृढता व्यक्त गरेका छन्।

भावी सन्ततिको हितका लागि आफू इमान्दारिताका साथ काम गर्ने उनले स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी (नेवास) समाजको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारको नाममा भइरहेको मानविय क्षति र ठगीप्रति गम्भीर चिन्ता व्यक्त गरे। विगत १६ वर्षमा १४ हजार नेपाली श्रमिकले रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाउनु ‘गम्भीर र दुर्भाग्यपूर्ण’ रहेको उनको भनाइ थियो।

मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसाय सम्मानजनक हुन सक्ने अवस्था हुँदाहुँदै पनि व्यवसायीहरूले आफूलाई ‘व्यवसायी’ भन्न नसक्ने अवस्था आएकोमा असन्तुष्टि पोखे। उनले वैदेशिक रोजगारमा भइरहेको जालसाजी र ठगीलाई इंगित गर्दै व्यवसायीहरूलाई आफ्नो व्यावसायिक धर्मभन्दा अन्य विषयमा केन्द्रित नहुन र श्रमिकको हकहितलाई प्राथमिकतामा राख्न कडा निर्देशन दिए।

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले अन्य मुलुकका श्रमिकको तुलनामा न्यून ज्याला पाउनु परेको विषयमा आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै मन्त्री भण्डारीले व्यवसायीहरूबाट पनि नेपाली श्रमिकले समान तलब(सुविधा पाउनुपर्ने अडान आउनु पर्ने आवश्यकता औंल्याए। उनले स्पष्ट शब्दमा भने, ‘यूएई (संयुक्त अरब इमिरेट्स) मा जाने श्रमिकका लागि अब एक हजार दिरामभन्दा कमको डिमान्ड ल्याए स्वीकार्य हुनेछैन।ू बढाइएको तलब भत्तामा कुनै दायाँबायाँ नगरी कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा समेत श्रमिकको सुविधालाई क्रमशः बढाउँदै जाने नीति रहेको बताए।

अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई विकासको सारथीका रूपमा हेर्नुपर्ने विषयमा आफूले गम्भीरतापूर्वक उठाइसकेको जानकारी मन्त्री भण्डारीले दिए।

आन्तरिक होस् या वैदेशिक रोजगार, समग्र क्षेत्रमा सुधारका लागि मन्त्रालयले कार्ययोजना अघि बढाइसकेको भन्दै उनले सबै सरोकारवालाहरूलाई भावी सन्ततिका लागि एक ठाउँमा बसेर इमान्दारितापूर्वक कार्य गर्न आह्वान गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै