सर्लाही । सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको अडियो भाइरल भएपछि जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
यो घटनाले उच्च पदस्थ प्रहरी अधिकारी र राजनीतिक नेताबीचको सार्वजनिक विवादले कानुनी मोड लिएको छ।
केही दिनअघि सर्लाहीका एसपी खड्का र जसपा नेता यादवबीचको टेलिफोन संवादको अडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो। पूर्वाधार कार्यालयको विषयलाई लिएर भएको भनिएको सो संवादमा नेता यादवले एसपी खड्कालाई ‘तिमीहरू मधेशमा लुट्न आएको’ भन्दै प्रहरी र सरकारी कर्मचारीमाथि भ्रष्टाचार तथा अवैध असुलीको गम्भीर आरोप लगाएका थिए। जवाफमा एसपी खड्काले ‘कुरा बुझेर बोल्न’ आग्रह गरे पनि संवाद चर्किँदै गएर गालीगलौजमा परिणत भएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राइले दिएको जानकारी अनुसार, नेता यादवविरुद्ध ‘आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। प्रहरीले यादवको खोजी कार्य तीव्र पारेको छ।
यसअघि, यसै घटनाका विषयमा हिजो राति प्रहरी टोली नेता यादवलाई नियन्त्रणमा लिन उनको घर पुगेको थियो। तर, यादवका छोरा र गाउँलेहरूको विरोध तथा हुलहुज्जतका कारण प्रहरी फर्कन बाध्य भएको थियो भने प्रहरीको गाडीमा तोडफोड समेत भएको डिएसपी सरोज राईले जानकारी दिएका थिए।
जसपाका मधेश प्रदेश अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएपछि यसले सर्लाहीको राजनीतिमा हलचल मच्चाएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूबीचको विवादले अब कानुनी प्रक्रिया मार्फत कसरी निकास पाउँछ, त्यो हेर्न बाँकी नै छ।