वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको आरोपमा एक ट्राफिक प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ।
यो घटनाले प्रहरी संगठनभित्र राजनीतिक आस्थाका आधारमा कारबाहीको सम्भावना र बढ्दो राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ।
बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सई कमल खड्कालाई प्रधान कार्यालयले ‘स्पष्टीकरण’ का लागि बोलाएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले रातोपाटीलाई पुष्टि गरे। खड्काले भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोप लागेको छ।
सई खड्काले लामिछानेको पक्षमा हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालय दबाबमा आएको देखिन्छ। डीआईजी घिमिरेले तस्बिरको सत्यता यकिन गर्नका लागि खड्कालाई बोलाइएको बताएका छन्।
सहकारी ठगीको आरोपमा न्यायिक हिरासतमा रहेका लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ साँधिएको दाबी गर्दै रास्वपाले देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। यसै अभियानका क्रममा प्रहरी पोशाकमै रहेका सई खड्काको हस्ताक्षरको तस्बिर सार्वजनिक भएपछि यसले व्यापक चर्चा पाएको छ।
प्रहरी नियमावली र आचरण संहिताले बहालवाला प्रहरी कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुन बन्देज लगाएको छ। यस्तो अवस्थामा एक सईले सार्वजनिक रूपमा एक राजनीतिक व्यक्तिको समर्थनमा हस्ताक्षर गर्नुले प्रहरी संगठनभित्रको निष्पक्षता र राजनीतिक निष्ठामाथि गम्भीर प्रश्न उठाएको छ।
यस घटनाले प्रहरी कर्मचारीहरूको व्यक्तिगत स्वतन्त्रता र व्यावसायिक आचरणबीचको सन्तुलनमाथि पनि बहस सिर्जना गरेको छ। प्रहरी प्रधान कार्यालयको यस कदमलाई राजनीतिक दबाब वा सामान्य अनुशासनात्मक कारबाहीको रूपमा हेरिन्छ, त्यसको नतिजाले आगामी दिनमा प्रहरी संगठनभित्रको आन्तरिक व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।