वीरगन्ज । पत्रकार दिलभूषण पाठकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा २५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए।
न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो। साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो।
‘साइबर ब्युरो ५९’ नामक जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत पाठकविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो।
निवेदकले पाठकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएको र चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।