बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्स लिमिटेडको स्टिल उत्पादन प्लान्टमा बुधबार राति भट्टी पड्किँदा एक जना कामदार घाइते भएका छन्।
राति करिब ९ः१५ बजे सि. सि. एम. प्लान्टमा कच्चा फलाम पगाल्ने क्रममा ३० टन क्षमताको भट्टी अचानक पड्किएको हो। यस घटनामा भारतको बिहार राज्य, समस्तीपुरका ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। उनको हाल वीरगन्जस्थित एल. एस. न्युरो अस्पतालमा उपचार भइरहेको छ।
भट्टी पड्किएसँगै प्लान्टभित्र आगलागी भएको र त्यसबाट ठूलो मात्रामा भौतिक क्षति पुगेको बताइएको छ। यद्यपि, उद्योगले अन्य कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ।
घटनापछि तत्कालै सुरक्षाकर्मी, स्थानीय प्रशासन र उद्धार टोली घटनास्थल पुगेका थिए। बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरी एक जना मात्रै घाइते भएको पुष्टि गरेका थिए।
घटनापछि विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा अफवाहपूर्ण र अपुष्ट खबरहरू प्रकाशित–प्रसारित भइरहेकोप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण गराएको छ।
जगदम्बा स्टिल्स लिमिटेडले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आधिकारिक पुष्टि नगरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मी, सञ्चार संस्था र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूप्रति हार्दिक अपिल गरेको छ। कम्पनीले संवेदनशील विषयमा अफवाह फैलाउँदा उद्योग र स्थानीय वातावरण दुवैमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ।