वीरगन्ज । जनमत पार्टीभित्र ‘परिवारवाद’ हावी भएको भन्दै पार्टीका स्थायी समिति सदस्य ई. दीपक कुमार साहले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।
हालै पार्टीले दुई जनालाई राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरेपछि एक प्रेस विज्ञप्ति जारी गर्दै साहले अध्यक्षले आफ्ना पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा महत्वपूर्ण पदमा पुर्याएको आरोप लगाएका छन्।
साहको विज्ञप्तिअनुसार, जनमत पार्टीमा परिवारवादको सुरुवात २०७७ सालमा अध्यक्षकी श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्षमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयबाट भएको थियो। यो क्रम अहिले अध्यक्षका दाजु डा. जय कान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाएपछि झनै प्रस्ट भएको छ। डा. राउतलाई विगतमा पनि सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषदको अध्यक्ष र संगठन विभागको प्रमुखजस्ता विभिन्न जिम्मेवारी दिइएको थियो।
साहले यसले संगठनभित्र गहिरो असन्तुलन, समर्पित कार्यकर्ताको उपेक्षा र मनोबलमा गम्भीर असर पारेको बताएका छन्। उनले जनमत पार्टीको स्थापना र संघर्षमा महत्वपूर्ण भूमिका खेलेका इ. कबिन्द्र यादव, इ. सुरेन्द्र नारायण यादव लगायतका व्यक्तित्वहरूलाई पाखा लगाएर पारिवारिक व्यक्तिहरूलाई निरन्तर नेतृत्वमा ल्याउनु प्रजातान्त्रिक मूल्यविपरीत भएको दाबी गरेका छन्।
विज्ञप्तिमा अर्को आपत्तिजनक विषय स्थायी समिति सदस्य तथा उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु दान बहादुर चौधरीलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइएकोबारे पनि उठाइएको छ। दान बहादुर चौधरी हालसम्म पार्टी विरोधी गतिविधिमा संलग्न रही अन्य दलहरूसँग आबद्ध रहेको भन्दै साहले उनलाई दिइएको जिम्मेवारी पार्टीका आन्तरिक मूल्य र आदर्शमाथिको गम्भीर प्रहार भएको उल्लेख गरेका छन्।
स्थायी समिति सदस्य साहले आफूले विगतमा पटकपटक अध्यक्षसमक्ष संगठनभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियाको संरक्षण गर्न आग्रह गरेको भए पनि त्यसलाई बेवास्ता गरिएको गुनासो गरेका छन्। उनले पछिल्ला घटनाक्रमहरूले पार्टीप्रति आमजनताको विश्वास डगमगाएको अवस्था सिर्जना गरेको बताएका छन्।
साहले संघर्ष र समर्पणका आधारमा नेतृत्व विकास गरियोस्, पारिवारिक सञ्जालका आधारमा पद बाँडफाँट बन्द गरियोस्, स्वकीय सचिवदेखि संगठनका अन्य प्रमुख जिम्मेवारीमा पनि योग्य र समर्पित कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गरियोस्,
पार्टीका सबै निर्णयहरू पारदर्शी, सहभागी र सहमतिमा आधारित हुनुपर्ने, संघर्षकालमा पार्टी निर्माणमा योगदान दिने नेताहरूप्रति सम्मानजनक व्यवहार होस् र उनीहरूलाई निष्क्रिय बनाउने षड्यन्त्रको अन्त्य गरियोस् जस्ता माग राखेका छन् ।
‘१४ वर्ष लामो संघर्षपछि पनि गैरपारिवारिक पात्रले संगठन विभाग प्रमुखजस्तो जिम्मेवारी नपाउनु र अध्यक्षका दाजुलाई एकसाथ तीन–तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको छ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साहले पार्टीभित्र स्वस्थ आलोचना, आत्मसमीक्षा र सुधारको संस्कृति विकास नभएसम्म जनमत पार्टीले मधेशका जनताको आशा–अपेक्षाको नेतृत्व गर्ने हैसियत कायम राख्न नसक्ने चेतावनी दिएका छन्। उनले जनताको भरोसा, नेताको प्रतिबद्धता र संगठनको समर्पणबीच सन्तुलन कायम नराख्न सकेमा भविष्यमा पार्टीप्रति विश्वास गुम्न सक्ने र त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।