ट्रेन्डिङ

राष्ट्रियसभाबाट भन्सार विधेयक सर्वसम्मत पारित : चुहावट नियन्त्रण र प्रविधिमैत्री भन्सारमा जोड

वीरगन्ज । नेपालको भन्सार प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यले ल्याइएको ‘भन्सार विधेयक, २०८०’ राष्ट्रियसभाबाट सर्वसम्मतले पारित भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजको राष्ट्रियसभा बैठकमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए।

विधेयकमाथि छलफलका क्रममा अर्थमन्त्री पौडेलले नयाँ कानुनको कार्यान्वयनले भन्सार चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भन्सार जाँचपास प्रक्रियालाई छिटोछरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने धारणा राखे।

यो विधेयक नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि (संशोधित) र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताका प्रावधानहरूलाई सम्बोधन गर्न ल्याइएको हो। संशोधित क्योटो महासन्धि अनुसार, सदस्य राष्ट्रले सामान्य प्रावधानहरू तीन वर्षभित्र र संक्रमणकालीन मापदण्डहरू पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने हुन्छ। यसैगरी, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरूलाई भन्सार ऐन–नियमबाट सम्बोधन गर्न यो विधेयक आवश्यक रहेको सरकारले जनाएको छ।

विधेयक प्रमाणीकरण भएको ९१ औं दिनदेखि लागू हुनेछ। यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज बनाउनुका साथै भन्सार प्रशासनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असार २० गते शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै