ट्रेन्डिङ

पर्सामा वनमन्त्री यादवको उपस्थितिमा दर्जनौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

वीरगन्ज । जनमत पार्टीले पर्सा जिल्लामा आफ्नो सांगठनिक आधारलाई थप मजबुत बनाएको छ।

मधेश प्रदेशका वन तथा वातावरण मन्त्री एवं जनमत पार्टीका राष्ट्रिय सचिव सञ्जयकुमार यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक पृष्ठभूमिका दर्जनौं नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

वीरगन्जस्थित जनमत पार्टीको जिल्ला कार्यालयमा बुधबार आयोजित स्वागत, सम्मान तथा भेटघाट कार्यक्रममा मन्त्री यादवले नवप्रवेशीहरूलाई टीका, अबिर र पार्टीको औपचारिक सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्नेहरूमा हुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादव, वीरगन्ज महानगरपालिका–७ का सञ्जय रौनियार, वीरगन्ज महानगरपालिका–८ की सरस्वती देवी र प्रमोद दास लगायतका प्रमुख व्यक्तित्वहरू रहेका छन्। उनीहरूसँगै विभिन्न क्षेत्रका अन्य दर्जनौं नेता(कार्यकर्ताले पनि जनमत पार्टीको सदस्यता ग्रहण गरे।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टी ‘स्वराज आन्दोलनको माटोबाट उठेको पार्टी’ भएको बताउँदै नवप्रवेशीहरूलाई संगठित भई अघि बढ्न आग्रह गरे। उनले जनमत पार्टी अब केवल ‘विकल्प नभएर परिवर्तनका लागि अपरिहार्य शक्ति’ बन्दै गएको दाबी गरे। ‘यस्ता नयाँ पुस्ताका नेताहरूको आगमनले पार्टी अझ बलियो हुनेछ,’ मन्त्री यादवले जोड दिए।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, अनिता रौनियार, प्रदेश सदस्य बृजेस्वर चौधरी, शिव यादव लगायत पार्टीका जिल्ला, नगर र वडास्तरीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय तहमा जनजागरणका कार्यक्रमहरू र आगामी राजनीतिक कार्ययोजनाबारे समेत व्यापक छलफल भएको जनमत पार्टी पर्साले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै