ट्रेन्डिङ

एमसीसीले नेपालमा निरन्तरता पाउने, थप ५ करोड डलरबारे अन्योल कायम

वीरगन्ज । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ।

अमेरिकी वैदेशिक सहायतामा लगाइएको स्थगनबीच विशेष छुटअन्तर्गत यो निर्णय भएको मिलेनियम च्यालेञ्ज एकाउण्ट–नेपाल (एमसीए–नेपाल) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यद्यपि, यो निर्णय कुन मितिमा भयो भन्नेबारे एमसीए–नेपालले स्पष्ट पारेको छैन।

यसअघि मार्चमा पनि एमसीसीले नेपालमा सञ्चालनमा रहेका परियोजनाको कार्यान्वयनलाई निरन्तरता दिन केही खरिद तथा कार्यालय सञ्चालन सम्बन्धी कार्यहरू गर्न अनुमति दिएको थियो।

एमसीए–नेपालका अनुसार, हालसम्म तीनवटा ४०० केभीका विद्युत् सबस्टेसन र १८ किलोमिटर ४०० केभी प्रसारण लाइनको ठेक्का लागिसकेको छ। बाँकी २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको एमसीए–नेपालले जनाएको छ।

नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको र एमसीसीको निरन्तर साझेदारीका लागि आभार प्रकट गरेको एमसीए–नेपालले विज्ञप्तिमा उल्लेख छ।

एक जानकार सरकारी स्रोतका अनुसार, नेपालसहित पाँच मुलुकमा एमसीसी सहयोग निरन्तर जारी रहने अनौपचारिक जानकारी आए पनि औपचारिक सूचना भने आउन बाँकी छ। सुरुमा ५० करोड अमेरिकी डलर अनुदान दिने गरी कम्प्याक्ट भएकोमा, प्रसारण लाइनको लागत बढेपछि एमसीसीको बोर्डले गत जनवरी २, २०२५ मा थप ५ करोड डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।

यद्यपि, अमेरिकी सरकारको हालैको निर्णयले सुरुको ५० करोड डलर मात्रै आउने हो वा थप ५ करोडसहित कुल ५५ करोड डलर नै आउने हो भन्ने स्पष्ट भइसकेको छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै