वीरगन्ज । नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट लागू हुनेगरी आफूले पाउँदै आएका सबै सरकारी सेवासुविधा फिर्ता गरेकी छन्।
उनको यो कदमलाई राजनीतिक वृत्तमा नैतिकता र सक्रिय राजनीतिप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।
पूर्वराष्ट्रपति भण्डारीको निकट स्रोतका अनुसार, उनले आजैको मितिबाट लागू हुनेगरी सबै सेवासुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छन्। ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं,’ स्रोतले बतायो।
गत असार १४ गते औपचारिक रूपमा नेकपा एमालेको राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीले आफ्नो पार्टी सदस्यता पनि नवीकरण भएको जानकारी गराएकी थिइन्। राष्ट्रपति पदबाट अवकाश पाएपछि सरकारी सुविधा उपभोग गर्दै आएकी भण्डारीको सक्रिय राजनीतिमा फर्कने निर्णय र लगत्तै सेवासुविधा त्याग्ने कदमले एमालेभित्र नयाँ नेतृत्वको बहसलाई थप तताएको छ।
राष्ट्रप्रमुखको भूमिकाबाट मुक्त भएपछि पनि सरकारी सुविधा लिने परम्परामाथि बेलाबेला प्रश्न उठिरहेका बेला भण्डारीको यो निर्णयले सकारात्मक सन्देश दिएको छ। उनको यो कदमले अब एमालेभित्र उनको भूमिका र आगामी महाधिवेशनमा नेतृत्वका लागि उनको सम्भावित सक्रियताबारे थप अड्कलबाजी सुरु भएको छ।