वीरगन्ज । नेकपा एकीकृत समाजवादीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै दिएको ‘विस्फोटक’ अभिव्यक्तिको मूल्य चुकाउनुपर्ने भएको छ।
पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि भ्रष्टाचारको मुद्दा चलिरहेका बेला आएको झाँक्रीको यो टिप्पणीलाई पार्टीले गम्भीरतापूर्वक लिँदै उनीसँग स्पष्टीकरण मागेको छ।
झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने’ मागसहित सार्वजनिक रूपमा टिप्पणी गरेपछि नेकपा एकीकृत समाजवादीभित्र खैलाबैला मच्चिएको थियो। पार्टी अध्यक्षमाथि नै सार्वजनिक रूपमा प्रश्न उठाएपछि पार्टीभित्र झाँक्रीप्रति चर्को आक्रोश देखिएको थियो।
पार्टी सचिव सोमप्रसाद पाण्डेले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको जानकारी दिए। ‘अब उहाँको जवाफ आउँला, जवाफ हेरेर पार्टीले आवश्यक निर्णय लिन्छ,’ पाण्डेले भने।
यो घटनाले नेकपा एकीकृत समाजवादीभित्र आन्तरिक किचलो र नेतृत्व परिवर्तनको बहस चर्किएको स्पष्ट संकेत दिएको छ। पतञ्जली जग्गा प्रकरण र यसमा अध्यक्ष नेपालको संलग्नताको विषयले पार्टीभित्रैबाट उठेको आवाजले एकीकृत समाजवादीलाई थप चुनौती थपेको छ। झाँक्रीको स्पष्टीकरण र त्यसपछि पार्टीले लिने निर्णयले नेकपा एसको भावी दिशा र आन्तरिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने निश्चित छ।