वीरगन्ज । विश्वभर स्वतन्त्र पत्रकारिताको पर्याय मानिने बेलायती प्रसारण संस्था (बीबीसी) यतिबेला आफ्नै कर्मचारी र सञ्चारकर्मीहरूको निशानामा परेको छ।
इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाचार सम्प्रेषणमा पक्षपाती कभरेज र आन्तरिक सेन्सरशिपको आरोप लगाउँदै बीबीसीका १०७ जना कर्मचारीसहित करिब ३०० जना सञ्चार उद्योगका प्रबुद्ध व्यक्तिहरूले बीबीसी नेतृत्वलाई खुला पत्र लेखेका छन्। यो पत्रले बीबीसीको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
पत्रमा बीबीसीमाथि इजरायल–प्यालेस्टाइन द्वन्द्वको रिपोर्टिङमा गम्भीर पूर्वाग्रह र सेन्सरशिप अपनाएको आरोप लगाइएको छ। पत्रमा उल्लिखित मुख्य बुँदाहरू यस प्रकार छन् :
इजरायली सेनार्को पब्लिक रिलेसन’ एजेन्ट बनेको : पत्रमा बीबीसीले इजरायली सेना र सरकारका गतिविधिहरूलाई कुनै शङ्काविना प्रस्तुत गरेको आरोप छ। यसले घटनालाई एकपक्षीय देखाएको र बीबीसी इजरायली सेनाको जनसम्पर्कको भूमिकामा देखिएको उल्लेख छ।
प्यालेस्टिनी आवाज दबाउने प्रवृत्ति : बीबीसीले प्यालेस्टिनी नागरिकको पीडा, गाजामा भएको मानवीय सङ्कट र युद्ध अपराधसँग जोडिएका इजरायली कारबाहीहरूको कभरेजमा तोडमोड गरेको र प्यालेस्टिनी आवाजलाई दबाएको आरोप लगाइएको छ।
आन्तरिक सेन्सरशिप र दबाब : बीबीसीभित्र रिपोर्टरहरूलाई सन्तुलित कभरेज गर्न नदिएको र उच्च व्यवस्थापनबाट ‘अनुशासन’को नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाइएको गुनासो पत्रमा गरिएको छ। पत्रकारहरूले आफूहरू निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्न चाहे पनि संस्थाभित्रैबाट असहज बनाइएको बताएका छन्।
पत्रकारिताको नैतिकतामाथि प्रश्न : पत्रमा भनिएको छ, बीबीसीले इजरायलको सैन्य कारबाहीको आलोचना गर्ने वा प्यालेस्टिनी पीडाका तथ्यहरू स्पष्ट रूपमा देखाउने प्रयासहरूलाई रोकिदिएको छ। यसले पत्रकारिताको स्वतन्त्रता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
बीबीसीका महानिर्देशक टिम डेभीलाई सम्बोधन गरिएको यस पत्रमा १०७ जना बीबीसीका कर्मचारीमध्ये केहीले आफ्नो नाम र पद खुलाएका छन् भने केहीको नाम अज्ञात राखिएको छ।
बीबीसी नेतृत्वले हालसम्म प्रत्यक्ष रूपमा पत्रका सबै आरोपहरूको खण्डन गरेको छैन। यद्यपि, संस्थाले ‘तथ्यमा आधारित निष्पक्ष कभरेज’ गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। तर, पत्र लेख्ने पत्रकारहरूको भनाइमा यो औपचारिक प्रतिक्रिया मात्र हो, जसले वास्तविक समस्यालाई सम्बोधन गर्दैन।
स्मरण रहोस्, सन् २०२४ को नोभेम्बरमा पनि सय जना पत्रकारले यस्तै किसिमको असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले सन् २०२३ देखि नै बीबीसीले आफ्नो निष्पक्षता गुमाउँदै गएको आरोप लगाउँदै आएका छन्।
यो घटनाले बीबीसी जस्ता प्रतिष्ठित सञ्चार संस्थाहरूभित्र पनि पत्रकारहरू आफ्नो नैतिक र व्यावसायिक दायित्वको सीमामा बाँधिएर असन्तुष्ट भएको तथ्यलाई उजागर गरेको छ।