वीरगन्ज । आसन्न विधान महाधिवेशनलाई लिएर नेकपा एमालेभित्र अहिलेदेखि नै नेतृत्वका विषयमा तानातान सुरु भएपछि महासचिव शंकर पोखरेलले पार्टी पङ्तिलाई ‘ब्याक टू बेसिक्स’ (मूलभूत कुरामा फर्कन) निर्देशन दिएका छन्।
पोखरेलले विशेषगरी कोशी र मधेश प्रदेशका पार्टी इन्चार्ज, अध्यक्ष तथा जिल्ला कमिटीका पदाधिकारीहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अहिलेको मुख्य ध्यान नीति र विधि निर्माणमा हुनुपर्नेमा जोड दिएका छन्।
उनले राष्ट्रिय महाधिवेशनको मिति नै तय नभएको अवस्थामा नेतृत्वको दौडमा लाग्नुले पार्टीलाई कमजोर बनाउने भन्दै सचेत रहन आग्रह गरे। ‘जतिबेला जे काम गर्नुपर्ने हो, त्यसैमा केन्द्रित हुनुपर्छ। राष्ट्रिय महाधिवेशनको मिति निर्धारण भइनसकेको अवस्थामा पार्टीलाई कमजोर बनाउने गरी चर्चा र टिकाटिप्पणी सुरु भएका छन्। यसतर्फ तपाईँहरू सचेत बन्नुपर्छ,’ पोखरेलले स्पष्ट पारे।
महासचिव पोखरेलले पार्टीले अगाडि सारेको ‘मिसन–२०८४’ सफल बनाउन एकताबद्ध नेतृत्व अपरिहार्य रहेको औंल्याए। उनले नेतृत्वको विषय पार्टीले एकताबद्ध प्रक्रियाबाटै टुङ्गो लगाउने भएकाले अहिले यसमा अनावश्यक बहस गर्नुको औचित्य नरहेको बताए।
यसका साथै, पोखरेलले पार्टीका पुराना र नयाँ कार्यकर्ता (पार्टी प्रवेश प्रक्रियाबाट जोडिएका) तथा जनसंगठनका अधिवेशनपछि कमिटीबाट बाहिरिएका कार्यकर्ताहरूलाई व्यवस्थापन गरी भूगोलमा सक्रिय बनाउन प्रदेश तथा जिल्ला कमिटीहरूलाई गृहकार्य गर्न ध्यानाकर्षण गराएका छन्।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। यस महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनको तयारीका लागि महासचिव पोखरेलले असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीहरूलाई निर्देशन दिएका छन्।
केन्द्रीय सचिवालयको बैठकले यस महाधिवेशनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विधान संशोधन प्रस्ताव र महासचिव पोखरेललाई सङ्गठनात्मक प्रतिवेदनको जिम्मेवारी दिएको छ। बैठकमा दुवै प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूले आ–आफ्ना जिल्लाका कामको रिपोर्टिङ गरेका थिए।
यस निर्देशनले एमालेभित्र आसन्न विधान महाधिवेशनमा नीतिगत र सांगठनिक विषयमा बढी ध्यान केन्द्रित गराई नेतृत्वको विषयलाई पछि धकेल्ने प्रयास गरेको देखिन्छ।