ट्रेन्डिङ

वीरगन्जमा २८ लाख २८ हजार हुण्डी रकमसहित पर्सा र बाराका तीन जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको हुण्डी रकमसहित तीन जनालाई वीरगन्जका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका–३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन्।

प्रहरीले अनिल कुमार वर्णवाललाई वीरगन्ज महानगरपालिका–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपैयाँसहित पक्राउ गरेको हो। यस्तै, बिनित कुमार श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका–८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको छ।

बाराका दिपक कुमार सोनारलाई भने वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला ३ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कुल २८ लाख २८ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै