ट्रेन्डिङ

सर्लाही कांग्रेसमा आन्तरिक कलहः विरेन्द्र सिंहद्वारा अमरेश सिंह र अन्तर्घातीहरूमाथि गम्भीर आरोप

वीरगन्ज । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् मधेशका पूर्व स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले सर्लाही कांग्रेसभित्रको आन्तरिक विवादलाई लिएर एक गम्भीर ‘स्टाटस’ सार्वजनिक गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा ‘स्टाटस’ पोष्ट गर्दे सांसद अमरेश सिंह र नेपाली कांग्रेसका केही अन्तर्घाती नेताहरूमाथि भ्रष्टाचार, अराजकता र पार्टीलाई कमजोर पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

विरेन्द्र सिंहका अनुसार, अमरेश सिंहले आफ्नो विगतका भ्रष्टाचार, उदण्डता र तथ्यहीन कार्यहरू लुकाउन गैरजिम्मेवार, तथ्यहीन र भ्रामक अभिव्यक्ति दिँदै आएका छन्। अमरेश सिंहको निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नम्बर ४ मा जनविश्वास गुमेको, राजनीतिक अस्तित्व सङ्कटमा परेको र जनाधार समाप्त हुँदै गएको अवस्थामा उनी नेपाली कांग्रेसलाई बदनाम र कमजोर पार्न विभिन्न कपोलकल्पित र झूठा आरोपहरू लगाउँदै शीर्ष नेताहरूप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेको विरेन्द्र सिंहको भनाइ छ।

उनले अमरेश सिंहसँग ‘अप्राकृतिक साँठगाँठ’ गरेका सर्लाही जिल्लाकै केही नेपाली कांग्रेसका अन्तर्घाती नेताहरूमाथि पनि निशाना साँधेका छन्। यी अन्तर्घातीहरूले गत निर्वाचनमा वडादेखि संघीय सांसदसम्मका पार्टीका आधिकारिक उम्मेदवारहरूलाई पराजित गराउन कुनै कसर नछाडेको र जिल्ला अनुशासन समितिबाट निलम्बित समेत भइसकेको विरेन्द्र सिंहले उल्लेख गरेका छन्।

सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहमाथि लगाइएका झूठा, कपोलकल्पित र भ्रामक आरोपहरूको पनि विरेन्द्र सिंहले निन्दा गरेका छन्। उनका अनुसार, सर्लाही कांग्रेसले जिल्लाका २० पालिकामध्ये १२ वटामा प्रमुख जिताएको, जिल्ला समन्वय समितिको प्रमुख जितेको र ४ मध्ये ३ वटा प्रदेश सभा सदस्य जिताएर जिल्लामै सबैभन्दा मजबुत र आकर्षक केन्द्र बनाएको छ।

यस्तो अवस्थामा सभापति सिंहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको बारेमा दिग्भ्रमित हुने खालका समाचार सम्प्रेषण गराई सर्लाही कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विरेन्द्र सिंहले बताएका छन्।

विरेन्द्र सिंहले यस्ता कार्यमा संलग्न, गराउने र उक्साउने व्यक्तिहरूलाई तत्काल आफूले गरेको भ्रष्टाचार र नैतिकहीन कार्यहरूको आत्मसमीक्षा गर्न आग्रह गर्दै अरूलाई बदनाम गराउने र चरित्रहत्या गर्ने कार्य तत्काल बन्द गर्न सचेत गराएका छन्। साथै, पार्टीभित्र बसेर अरूको उक्साहटमा नेपाली कांग्रेस र शीर्ष नेताहरूलाई अनावश्यक बदनाम गर्ने, पार्टीलाई कमजोर बनाउने र गैरराजनीतिक अभिव्यक्ति दिँदै हिँड्नेहरूलाई आफ्नो दोहोरो चरित्र र आचरण सुधार गर्न समेत उनले चेतावनी दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै