ट्रेन्डिङ

विद्या सदनमा ‘स्टार्ट स्मार्ट’ कार्यक्रम सम्पन्न

वीरगन्ज । वीरगन्ज–१२ स्थित विद्या सदन माध्यमिक विद्यालयमा आज ‘स्टार्ट स्मार्ट : आर्थिक रूपमा सुरक्षित जीवन निर्माण’ शीर्षकको एक प्रेरणादायी तथा व्यावहारिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कक्षा ९ र १० का ११० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रमले वित्तीय साक्षरताको महत्वलाई गहिरो रूपमा उजागर गरेको छ।

कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयकी निर्देशक उमा गुरुङले विद्यार्थी जीवनदेखि नै बचतको बानी बसाल्नु भविष्यमा आर्थिक लाभ र आत्मनिर्भरताका लागि अपरिहार्य रहेको बताइन् । उनले यस्ता कार्यक्रमहरूलाई शिक्षासँगै जीवनोपयोगी सीपको विकासमा महत्वपूर्ण कदम भएको धारणा व्यक्त गरिन् ।
सानिमा बैंक प्रा.लि., वीरगन्ज शाखाका प्रबन्धक राज कुमार सोडारीले कार्यक्रमका प्रमुख वक्ताका रूपमा आर्थिक अनुशासन, आम्दानी–खर्च व्यवस्थापन र योजनाबद्ध बचतका विषयमा जीवनसँग जोडिएका यथार्थपरक उदाहरणसहित प्रस्तुति दिए । उनको प्रस्तुतिले विद्यार्थीहरूमा वित्तीय सोच र व्यवहारिक ज्ञानको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सहभागीहरूले बताए।

प्रमुख अतिथि वीरगन्ज पब्लिक कलेजका निर्देशक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले यस्ता ज्ञानमूलक सत्रहरू निरन्तर सञ्चालन हुनुपर्ने र विद्यार्थीहरूले यसलाई व्यवहारमा उतार्न जरुरी रहेकोमा जोड दिए ।

कार्यक्रममा मानवसेवा आश्रम, वीरगन्जका सञ्चालक देवेश कुमार गुप्ताले पनि मन्तव्य राख्दै जीवनमा सेवाभाव, आत्मानुशासन र नैतिक मूल्यको महत्वबारे प्रकाश पारे ।

कक्षा ९ का विद्यार्थी आयान अन्सारीले कार्यक्रमको सञ्चालन आत्मविश्वासका साथ गरेका थिए। सहभागी विद्यार्थीहरूका अनुसार, यो कार्यक्रम ज्ञानमूलक हुनुका साथै अन्तरक्रियात्मक र उत्साहजनक रहेको थियो।

विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङले कार्यक्रमको समापन गर्दै ‘स्टार्ट स्मार्ट’ जस्ता पहलहरूले विद्यार्थीहरूलाई वित्तीय रूपले सचेत, आत्मनिर्भर र अनुशासित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सकिने आवश्यकता समेत औंल्याए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै