ट्रेन्डिङ

कञ्चनपुर र धनगढीमा भारी वर्षा, ‘रेड अलर्ट’ जारी

वीरगन्ज । सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षाको व्यापक प्रभाव देखिएको छ।

कञ्चनपुर जिल्लामा भारी वर्षासँगै ‘रेड अलर्ट’ जारी गरिएको छ भने, धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा व्यापक डुबान भएको छ। जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेको जनाएको छ। पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर र कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले सोमबार बिहान ११ः५० बजे सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा होचा भूभागमा बाढीको जोखिम बढेको छ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर ८ र १२ लगायतका टोलहरूमा भारी वर्षाका कारण व्यापक डुबान भएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ, जसलाई विभागले खतराको सङ्केत भनेको छ।

वडा नम्बर ८ को शिक्षानगर डुबानको चपेटामा परेको छ, जहाँ अधिकांश घरमा पानी पसेर फर्निचर, फ्रिज, लो बेड, अन्नपात लगायतका सामग्रीहरूमा ठूलो क्षति पुगेको छ। स्थानीय दिनेश बोहराले अहिलेसम्म लाखौँको क्षति भइसकेको र आफूहरू छिमेकीको घरमा आश्रय लिन बाध्य भएको बताए। धनगढी–१२ को बजार क्षेत्रको मुख्य सडक पनि डुबानमा परेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने, कोशी र कर्णाली प्रदेशका एक(दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

कञ्चनपुरको कृष्णपुर, बेलौरी लगायत सुदूरपश्चिमका तराईका अधिकांश जिल्लाहरू डुबानमा परेका छन्। सेती नदीमा पानीको बहाव बढेपछि बैतडीको सिगास-५ ढुङ्गाढका स्थानीय त्रसित छन्। प्रहरी प्रशासनले विपद्को समयमा सावधानी र सुरक्षा अपनाउन सबैलाई आग्रह गर्दै उद्धार कार्यमा जुटिरहेको जनाएको छ। हालसम्म ठूलो मानवीय क्षतिको घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै