कलैया । जिल्ला प्रहरी कार्यालय बाराले लामो समयदेखि विभिन्न अपराधमा संलग्न भई फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले २०८२ असार १५ गते गरेको विशेष खोजी अभियानका क्रममा उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, पक्राउ परेकाहरूमा लागुऔषध, वैदेशिक रोजगार ठगी, बहुविवाह, सरकारी छाप किर्ते, ज्यान मार्ने उद्योग, बैंकिङ कसुर, कर्तव्य ज्यान, नागरिकता सम्बन्धी कसुर, मानव बेचबिखन तथा ओसारपसार र लेनदेन मुद्दाका फरार अभियुक्तहरू रहेका छन्।
पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ का ६० वर्षीय सन्तलाल दास लागुऔषध गाँजा मुद्दामा, सिम्रौनगढ नगरपालिका–६ का ३१ वर्षीय कृष्ण प्रभात कुशवाहा वैदेशिक रोजगार कसुरमा र ५५ वर्षीय माला औसिदिन अंसारी बहुविवाह मुद्दामा रहेका छन्।
त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–१४ का ६२ वर्षीय दिनानाथ न्यौपाने र ६२ वर्षीया पदम कुमारी थापा मगर सरकारी छाप किर्तेमा पक्राउ परेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–१३ का ५५ वर्षीय अजित राय नागरिकता सम्बन्धी कसुरमा तथा महागढीमाई नगरपालिका–६ का ४२ वर्षीय पुनदेव प्रसाद यादव ज्यान मार्ने उद्योगमा नियन्त्रणमा लिइएका छन्।
त्यसैगरी परवानीपुर गाउँपालिका–५ का ४० वर्षीय बिष्णु प्रसाद राउत कुर्मी बैंकिङ कसुरमा, कलैया उपमहानगरपालिका–१५ का ६० वर्षीय महन्त राउत अहिर कर्तव्य ज्यानमा र कलैया उपमहानगरपालिका–१३ का ६९ वर्षीय मोताहिर मिया दर्जी ९६९० पनि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका–७ का ४५ वर्षीय मोसलिम मियाँ धुनिया र लेनदेन मुद्दामा बारागढी गाउँपालिका–५ का ४६ वर्षीय अनुठा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।