वीरगन्ज । संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो उदेश्य, औचित्य र आवश्यकताबारे देशव्यापी सभा गर्ने निर्णय गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा आज काठमाडौँमा बसेको मोर्चाको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । यस बैठकले मोर्चाको भावी रणनीति र संगठनात्मक कार्यप्रणालीलाई लिएर ठोस निर्णयहरू गरेको छ।
बैठकले प्रमुख रूपमा मोर्चाका उद्देश्य, औचित्य र आवश्यकता बारे जनस्तरमा सन्देश पुर्याउन देशका प्रमुख सहरहरूमा सभाहरू आयोजना गर्ने निर्णय गरेको छ। यस अभियानको पहिलो चरण अन्तर्गत, साउन १७ गते काठमाडौंमा, साउन २१ गते भैरहवामा र साउन २३ गते कैलालीमा सभाहरू आयोजना गरिनेछन्।
त्यसैगरी, भदौ १६ गते विराटनगरमा, भदौ १८ गते जनकपुरमा र भदौ २० गते वीरगन्जमा पनि सभाहरू गरिने कार्यक्रम तय भएको छ। यी सभाहरूले मोर्चाको एजेण्डालाई देशभरका जनतासम्म पुर्याउने लक्ष्य राखेका छन्।
यसका साथै, मोर्चाको संगठनात्मक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि ‘संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२’ पारित गरिएको छ। यो कार्यविधि आजकै मितिबाट लागू हुने निर्णय पनि बैठकले गरेको छ। यसले मोर्चाको आन्तरिक कार्यप्रणालीलाई स्पष्ट पार्दै यसको परिचालनमा एकरूपता ल्याउने विश्वास गरिएको छ।
बैठकमा जसपा नेपालका राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा, नागरिक उन्मुक्तिका लालबिर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, अनिल महासेठ, लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतका अब्दुल खान, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाका वृषेश चन्द्र लाल, ब्रज किशोर सिंह लगायतका विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
रुपन्देही क्षेत्र नं. ३ को उपचुनाव, भावी कार्यक्रम र कार्यविधिको पूर्णता लगायतका एजेण्डाहरूमाथि छलफल गर्दै आजका लागि बैठक स्थगित गरिएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।