वीरगन्ज । अब शिक्षा संकायमा अध्ययन नगरेकाहरूले पनि शिक्षक बन्न पाउने भएका छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि शिक्षा संकाय बाहेकका विषय पढेकाहरूलाई पनि अवसर दिने सहमति जुटाएको हो।
यससँगै, शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरिएको छ। यो व्यवस्थाले विभिन्न विषयका विज्ञहरूलाई शिक्षण पेशामा आकर्षित गर्ने अपेक्षा गरिएको छ।
समितिले शिक्षकहरूलाई अध्यावधिक राख्नका लागि पनि नयाँ प्रावधान ल्याएको छ। अब प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुनर्ताजगी तालिम लिनुपर्नेछ। यसले शिक्षकहरूको ज्ञान र सीपलाई अद्यावधिक राख्न मद्दत पुग्नेछ।