सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरे पनि तत्काल सरकार छाड्ने पक्षमा नभएको स्पष्ट पारेका छन्।
शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा आयोजित कृषि विद्युतीकरण योजना अवलोकन कार्यक्रममा सहभागी राउतले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “बजेटमा हामीले अघि सारेका कृषकहितका दीर्घकालीन योजना हटाइएपछि असन्तुष्टि भएको हो, तर त्यसका आधारमा अहिले सरकारबाट बाहिरिने निर्णय छैन।”
उनले जनमत पार्टी सदैव जनताको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्दै कृषकहरूको हितका दीर्घकालीन योजनालाई प्राथमिकतामा राखिएको बताए।
“जनताको भलाइका लागि ल्याएका योजना बजेटबाट हटाइएका छन्, त्यसैले असन्तुष्टि स्वाभाविक हो,” राउतले भने।
संघीय लोकतान्त्रिक मोर्चा (लुज एलायन्स) को सन्दर्भमा बोल्दै राउतले उक्त गठबन्धन संविधान संशोधनको एजेन्डामा केन्द्रित रहेको बताए।
“सरकारमा जाने कि नजाने भन्ने विषयमा मोर्चाभित्र अहिलेसम्म औपचारिक छलफल भएको छैन। मूल उद्देश्य संविधान संशोधनका लागि दबाब सिर्जना गर्नु हो,” उनले बताए।
उनका अनुसार संविधान संशोधनका विषयमा मोर्चाभित्र निरन्तर छलफल भइरहेको छ र आइतबार पुनः बैठक बस्ने तयारी भइरहेको छ।