वीरगन्ज । लामो समयदेखिको अन्योल चिर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई विद्यालय शिक्षा विधेयकमा समावेश गर्ने सहमति भएको छ।
शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले एसईईलाई प्रदेश स्तरबाट सञ्चालन गर्नेगरी विधेयकमा सहमति जुटाएको हो।
शिक्षामन्त्री रघुजी पन्तले एसईईलाई प्रदेशबाटै सञ्चालन गर्ने प्रस्ताव गरेपछि उक्त प्रस्तावमा सहमति जुटेको हो। यस व्यवस्था अनुसार, प्रदेशले परीक्षा बोर्डसँग समन्वय गरी एसईई सञ्चालन गर्नेछ।
यसअघि मूल विद्यालय शिक्षा विधेयक र उपसमितिको प्रस्तावमा समेत एसईईलाई समावेश नगरिएको अवस्थामा शनिबारको समिति बैठकले यसलाई ऐतिहासिक निर्णय मानिएको छ। समितिले पारित गरेको यो विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ।