बारा । बारा प्रहरीले लागूऔषध नियन्त्रणमा महत्त्वपूर्ण सफलता हासिल गर्दै २ क्विन्टलभन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
वीरगन्ज र बाराको सिमानामा पर्ने गण्डक चोकमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा भुसभित्र लुकाएर तस्करी गरिँदै गरेको अवस्थामा उक्त लागूऔषध बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार गाँजा तस्करी भइरहेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी टोलीले योजनाबद्ध तरिकाले गण्डक चोकमा चेकजाँच सुरु गरेको थियो। सो क्रममा बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानमा लोड गरिएको भुसको बोराभित्र लुकाइराखेको २ क्विन्टल १२ किलो गाँजा फेला परेको हो।
प्रहरीले गाँजासहित पिकअप भ्यान र तस्करीमा प्रयोग भएको बागमती प्रदेश २–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। यस घटनामा संलग्न मकवानपुरको थाहा नगरपालिका–४ निवासी रवि कार्की, वडा नं. १२ का विरबहादुर मोक्तान, हेटौंडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिका निवासी महेश तामाङलाई पक्राउ गरिएको डीएसपी पण्डितले जानकारी दिए।
पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी लागूऔषध नियन्त्रणसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। बरामद गरिएको गाँजा, सवारीसाधन र संलग्न सबै व्यक्तिमाथि प्रचलित कानूनबमोजिम थप कारबाही गरिने प्रहरीले जनाएको छ। यो सफल अपरेसनले लागूऔषध ओसारपसारविरुद्ध प्रहरीको सक्रियता र सफलतालाई थप उजागर गरेको छ।