वीरगन्ज । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजिएको निष्कर्ष निकालेको छ।
शुक्रबार बसेको पार्टीको छैटौं सचिवालय बैठकले यसलाई पार्टी र आन्दोलनमाथिको प्रहारका रूपमा लिएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार सचिवालय बैठकमा नेताहरूले नेकपा एकीकृत समाजवादीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहार हुँदै आएको र अध्यक्ष नेपालमाथि लगाइएको भ्रष्टाचारको मुद्दालाई यसैको शृङ्खलाका रूपमा व्याख्या गरेका छन्। ‘हाम्रो पार्टीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहारहरू हुँदै आएको छ र अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा लगाइनुलाई यसको शृङ्खलाकै रूपमा रहेको हाम्रा नेताहरूले बैठकमा धारणा राखेका छन्, ज्वालाले भने।
बैठकको अध्यक्षता स्वयं अध्यक्ष नेपालले गरेका थिए। प्रवक्ता ज्वालाले संसदीय दलको नेताका बारेमा भने संसदीय दलकै बैठकबाट निर्णय गरिने स्पष्ट पारे।
बैठकमा अध्यक्ष नेपालले सरकारले प्रधानमन्त्री, मन्त्री र शक्तिशाली नेताहरूको क्षेत्रमा मात्र बजेट केन्द्रित गरी प्राथमिकतामा पर्नुपर्ने क्षेत्रलाई बजेटविहीन बनाएको भन्दै आलोचना गरेका थिए।
बैठकमा सहभागी वक्ताहरूले समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ, सादगी र किफायती जीवनशैली बाँचिरहेका नेपालमाथि नै भ्रष्टाचारको मुद्दा लगाउनु राजनीतिक प्रतिशोधको प्रतिफल भएको निष्कर्ष निकालेका थिए। ंयो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ,’ ज्वालाले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोधका साथ प्रहार गरिएकोले कानुनी उपचारका निम्ति सबै खाले प्रयास गरिनेछ, कानुनी रूपमै फेस गर्छौं, हामीले सफाइ पनि पाउँछौं।’
सचिवालय बैठकले उखु किसानलाई अनुदान दिन बन्द गर्ने सरकारी निर्णयको कडा विरोध गर्दै उक्त निर्णय सच्याउन माग गरेको छ। साथै, रोपाईंको बेला किसानलाई पर्याप्त मल उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको प्रवक्ता ज्वालाले जानकारी दिए।
बैठकमा केही नेताहरूले आफ्ना धारणा राखेका थिए भने बाँकी नेताहरूले शनिबार बिहानको बैठकमा बोल्ने कार्यक्रम रहेको छ।