वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २८, बगहीमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जना युवाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा अन्य एक जना घाइते भएका छन् ।
वडाध्यक्ष सूर्युग महतो धानुकका अनुसार, शुक्रबार दिउँसो करिब २ बजेको समयमा भेडाहा खोलाबाट माटो बोकेर बगही गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको एउटा ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार, ट्याक्टर आफैं अनियन्त्रित भई खसेको र त्यसले च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा बगही गाउँका पन्ना पटेलका टोरा अन्दाजी १६/१७ वर्षीय आकाश पटेल र राजेश पटेलका सोही उमेरका छोरा रहेका छन्। प्रहरीका अनुसार, मृत्यु हुने दुईमध्ये आकाश ट्याक्टरका चालक थिए भने गोलु उनीसँगै सवार थिए।
यस दुर्घटनामा वीरगन्ज–२८ कै इनर्वा गाउँका अन्दाजी १८/१९ वर्षीय जयकुमार मण्डल घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले दुवै मृतकको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ। प्रहरी नायब उपरीक्षक भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यस घटनाले स्थानीयवासीमा गहिरो शोक छाएको छ।