जनकपुरधाम । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एक होटलबाट ४७ ग्राम ९ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जना मधेश प्रदेशका बासिन्दा हुन्, जसले लामो समयदेखि मधेशबाट काठमाडौंसम्म लागूऔषध कारोबार गर्दै आएको बताइएको छ।
असार १३ गते बिहीबार सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा टोलीले काठमाडौंस्थित दर्शन नमस्ते इन होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएकाहरूमा सिरहा जिल्लाको सिरहा नगरपालिका–८ बस्ने ४० वर्षीय मोहम्मद अख्तर मियाँ र धनुषा जिल्लाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादव रहेका छन्।
उनीहरू होटलमा ब्राउन सुगर किनबेच गर्ने तयारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कालिदास धौबजी ले जानकारी दिएअनुसार उनीहरूको साथबाट ब्राउन सुगरका अतिरिक्त जोख्न प्रयोग हुने एक थान तराजु, ३ थान मोबाइल, २ वटा राहदानी र नगद १२ हजार १७५ रुपैयाँ समेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका दुवै जनाले विगत लामो समयदेखि धनुषाका विभिन्न ठाउँबाट लागूऔषध ल्याई काठमाडौंमा बेचबिखन गर्दै आएको खुलेको छ। यस घटनाले मधेश प्रदेशबाट राजधानीसम्मको लागूऔषध सञ्जालको सम्भावनालाई उजागर गरेको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद ब्राउन सुगरसहित थप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढेको सशस्त्र प्रहरीले जनाएको छ।