ट्रेन्डिङ

पर्साको चारै निर्वाचन क्षेत्रमा जनमतको राष्ट्रिय परिषद् बैठक सम्पन्न

वीरगन्ज । जनमत पार्टीले पर्सा जिल्लामा आफ्नो संगठन सुदृढ गर्दै चारवटै संघीय निर्वाचन क्षेत्रमा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। \

दुई दिनसम्म चलेको यो अभियानले पार्टीको स्थानीयस्तरमा पहुँच र प्रभाव बढाउने लक्ष्य राखेको छ।

बुधबार र बिहीबार गरी संघीय निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ मा छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना गरिएका थिए। बिहीबार मात्रै क्षेत्र नं. ३ अन्तर्गत पोखरियाको विशाल धर्मशाला र क्षेत्र नं. ४ अन्तर्गत धोबिनी असवारीस्थित हनुमान धर्मशालामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

यी कार्यक्रमहरूमा विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख डा. जयकान्त राउतले टीका र माला लगाएर स्वागत गरे। प्रवेश गर्नेहरूमा वीरगन्जका सामाजिक महिलाहरू सुधा सिंह, सीमा सिंह, साथै संजय साह, आकाश गुप्ता, सरोज यादव लगायतका युवा कार्यकर्ताहरू रहेको सर्राफले बताए।

सर्राफका अनुसार बुधबार संघीय क्षेत्र नं. १ र २ लाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममार्फत जनमत पार्टीले स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने रणनीति अघि सारेको छ। उनले पार्टीको आगामी गतिविधिहरू थप व्यवस्थित, सक्रिय र प्रभावकारी हुने दाबी गरे।

कार्यक्रममा पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा सहित पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। यस अभियानले जनमत पार्टीलाई मधेश प्रदेशमा अझ बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै