ट्रेन्डिङ

‘अहिलेको सरकार जनहितमा शून्य, कांग्रेस निरीह : कांग्रेस नेता महर

वीरगन्ज । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस र एमालेबीच ७ बुंदे सहमतिको जगमा बनेका अहिलेको सरकारले जनतामा उत्त्साह जनाउने खालका कुनैपनि काम नगरेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेस जनताकाबीचमा बदनाम भइरहेको र यसले कांग्रेस पार्टी कमजोर बन्दै गइरहेको उनले बताए । यो सरकार बनेको १ वर्ष पुरा भएता पनि सरकारले जनतामा उत्साह जगाउने काम गर्न सकेको छैन। कांग्रेसको अहिलेको नेतृत्वले पार्टीको १५ औं महाधिवेशन निर्धारित समयमै गर्नका लागि चासो नै नदेखाएका कारण महाधिवेशन तोकिएको समयमा हुन सक्ने सम्भावना क्षीण हुदैं गएको केन्द्रिय सदस्य महरको भनाई छ ।

कांग्रेसको महाधिवेशन निर्धारित समयमै गर्नका लागि देशभरबाट नेता–कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । उनले संघ, प्रदेश र स्थानीय तह सबैमा कांग्रेस सबै भन्दा ठूलो दल हो, तर पनि सरकारमा हालीमुहाली एमालेको मात्रै रहेको र कांग्रेस निरीह बनेको बताए।

फरक प्रसंगमा महरले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मधेश प्रदेशसंग फेरि विभेद गरेको टिप्पणी गरे । उनले भने, ‘देशलाई सबैभन्दा बढी राजस्व संकलन गरेर दिने प्रदेश मधेश प्रदेश हो । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने प्रदेशपनि मधेश नै हो । तर संघीय सरकारले अहिले ल्याएको बजेटमा मधेश प्रदेशसँग विभेद गरिएको छ ।’

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै