जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ।
मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ। मुख्यमन्त्री सिंहले यस्ता गतिविधिमाथि प्रदेश सरकारको शून्य सहनशीलता रहने स्पष्ट पारेका छन् । ‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो,’ छड्केपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार अब सह्य हुँदैन।’
प्रदेश सरकारले यसअघि पनि सीमा नाका, सडकढाट लगायत स्थानहरूमा हुने अवैध कारोबार र असुली नियन्त्रण गर्न विशेष पहल थालेको थियो। सोमबारको अनुगमनलाई कारबाहीको संकेतको रूपमा लिइएको छ।
पक्राउ परेकाहरूको नाम र विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। अनुसन्धानपछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।