ट्रेन्डिङ

रौतहटका ६ पालिका ‘रेड जोन’ मा

रौतहट । अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा परेको छ । जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिका ,दुर्गाभगवति गाउँपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यस्तै जिल्लाको पूर्विभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएको छ। लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन्।

त्यसैगरी जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ।

त्यस्तै बाढी र डुबान कटानको जोखिम बाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठुलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले बताएका छन्।

भोलिसम्म वर्षा हुने भएकाले बागमती, लालबकैयालगायत नदी खोलामा ठुलो बाढी आउने जोखिम रहेको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।

यता इलाका प्रहरी कार्यालय कटहरिया पनि जलमग्न भएको छ।

कुलेखानी ड्याम खोलिएपछि बागमती नदीमा अझै ठुलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माइकिङ गर्दै छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै