वीरगन्ज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाहरूबारे छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताए ।
उनले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासहरूबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिका जस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको बताए ।
उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत सञ्चालित पूर्वाधार परियोजनाहरू र यूएसएआईडी मार्फत भइरहेका कार्यक्रमहरू पुनःसञ्चालन हुनेमा हामी आशावादी रहेको उल्लेख गरे । ‘सगरमाथा संवाद’जस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत जलवायु परिवर्तनजस्ता संवेदनशील मुद्दामा विश्वसमुदायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने नेपाल सरकारको धारणा प्रस्तुत गर्दै उपराष्ट्रपति यादवले नेपाल-अमेरिका साझेदारी मानव कल्याणमा केन्द्रित विषयहरूमा समेत सशक्त सहयोगको उदाहरण बनेको बताए ।
संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले एमसिसी, युएसएआईडी लगायत अन्य विकास परियोजनाहरु सकारात्मक रुपमा निरन्तरताको मार्गमा अघि बढेको बताए । उनले अमेरिकामा नेपाली समुदाय अन्त्यन्तै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल र अमेरिका परस्पर सहकार्य गर्दै महत्वपूर्ण कामहरु गर्न सक्ने बताए ।