ट्रेन्डिङ

एसईई नतिजा असार तेस्रो साताभित्र आउने

वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।

शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएपछि निर्धारित समयमा नतिजा सार्वजनिक गर्न नसकिएको हो।

यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको थियो। तर, गत चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको सडक आन्दोलनले उत्तरपुस्तिका परीक्षण कार्यमा ३२ दिनको ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिए।

हाल उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अङ्क इन्ट्री गर्ने काम भइरहेको छ। डा. भट्टराईका अनुसार, यो ढिलाइलाई कम गर्न बोर्डले रातदिन काम गरिरहेको छ र ३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयास भइरहेको छ। यसका लागि दोहोरो सिफ्टमा काम भइरहेको उनले बताए।

बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको भए पनि तोकिएको मिति भने अझै निश्चित भएको छैन। गत २०८१ साल चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए।

नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पनि पछि धकेलिने भएको छ। बोर्डको वार्षिक कार्यतालिका अनुसार असार २२ गतेसम्म पुनर्योग गर्ने र साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने तालिका थियो। यस्तै, साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यक्रम पनि अब प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै