सर्लाही। नेपाली कांग्रेस, मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले आफ्नो गृहजिल्ला सर्लाहीको क्षेत्र नम्बर ४ मा केही महिनादेखि बढ्दै गएको आपराधिक घटना र अराजकताप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले केही राजनीतिककर्मीको उक्साहट र संरक्षणमा केही अराजक तथा उच्छिङ्खल व्यक्तिहरूले प्रहरी र सर्वसाधारण नागरिकमाथि सांघातिक आक्रमण गरी सम्पूर्ण क्षेत्रवासीलाई आतङ्कित र त्रसित पारेको भन्दै यस्ता कार्यको घोर निन्दा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले श्रृङ्खलाबद्ध रूपमा त्रास फैलाउने र अराजकता मच्चाउनेहरूलाई कडा कारबाही गर्न माग गरेका छन्। साथै, उनले आफ्ना क्षेत्रवासीलाई यस्ता अराजक र उत्शृङ्खल कार्य गर्ने र गराउने व्यक्तिहरूसँग सचेत रहन अपिलसमेत गरेका छन्।
पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले सर्लाहीमा भइरहेका यस्ता आपराधिक घटनाले आम जनतामा त्रासको स्थिति सिर्जना मात्र नभई सुरक्षा निकायको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले तत्काल यस्ता कार्य गर्न उक्साउने, संरक्षण दिने र गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन्।