वीरगन्ज । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५, टुसालमा एक युवकको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा निजगढ नगरपालिका–८ का जित बहादुर तामाङका ३२ वर्षीय छोरा कृष्ण लामाको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरी अभियुक्तहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, असार ६ गते राति कृष्ण लामा आफ्ना साथी विकास लामालोको बहिनीको जन्मदिन मनाउन टुसालस्थित लामालोको कोठामा गएका थिए। सोही क्रममा उनीमाथि कुटपिट भएको र कुटपिटबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनापछि फरार रहेका चार जना अभियुक्तलाई प्रहरीले असार ७ गते पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ टुसाल बस्ने ३२ वर्षीय विकास लामालो, बारा निजगढ नगरपालिका–७ का २९ वर्षीय सुगन्ध लामा, सोही वडाका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ का २३ वर्षीय निसान जिम्भा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका अभियुक्तहरूलाई पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ ।
हत्याको कारण भने हालसम्म खुल्न सकेको छैन र प्रहरीले अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने बताएको छ। यो हत्या घटनाले स्थानीय क्षेत्रमा त्रसित वातावरण सिर्जना गरेको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पठाएको छ।