वीरगन्ज । राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्ना प्रवासी संगठनहरूलाई सुदृढ बनाउने क्रमलाई निरन्तरता दिँदै अमेरिका र कतारका लागि संयोजकहरू तोकेको छ ।
पार्टीको निर्णय अनुसार अमेरिकास्थित प्रवासी संगठनको संयोजकमा सन्त थोकर तामाङ्ग तथा कतारस्थित प्रवासी संगठनको संयोजकमा हरिलाल महतोलाई चयन गरेको हो ।
पार्टीले जारी गरेको वक्तव्यमा राष्ट्रिय मुक्ति पार्टी नेपालको मुख्य उद्देश्य राष्ट्रिय मुक्ति क्रान्ति मार्फत विद्रोह र संघर्षको कार्यदिशा अँगाल्दै नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा रुपान्तरण गरी स्वदेशवादको लक्ष्य प्राप्त गर्नु हो र यही उद्देश्य प्राप्तिका लागि प्रवासमा समेत पार्टीको सन्देश प्रचार–प्रसार गर्नु र संगठन विस्तार गर्नु अपरिहार्य रहेको उल्लेख छ ।
यसै सन्दर्भमा पार्टीले कतार र अमेरिकामा रहेका नेपालीहरु, विशेष गरी उत्पीडित आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम समुदाय लगायत सम्पूर्ण समुदायका प्रतिनिधिहरूलाई संगठित गर्दै तदर्थ समिति गठन गर्न पहल गर्न आह्वान गरेको छ ।
पार्टीले कतार र अमेरिकामा प्रवासी नेपालीहरूमाझ संगठन निर्माण तथा सुदृढीकरणको अभियानलाई सफल बनाउन गरिएको प्रयासबारे पार्टी केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।
नयाँ संयोजकद्वयलाई पार्टीले शुभकामना दिँदै अगामी कार्यकालमा इमानदारी, प्रतिबद्धता र नेतृत्व क्षमतासहित संगठन विस्तारमा सफलता हासिल हुने विश्वास व्यक्त गरेको छ ।