वीरगन्ज । चितवनको राप्ती नगरपालिका–३ मा आज बिहान भएको एक भयानक सडक दुर्घटनामा परी ७ जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस र ईभी माइक्रो बस एक आपसमा ठोक्किँदा यो दुःखद घटना घटेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले दुर्घटनामा ज्यान गुमाउनेहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिए। मृतकका शवहरू भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार, धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन (ईभी माइक्रो बस) बीच ठोक्किँदा यो दुर्घटना भएको हो।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।