ट्रेन्डिङ

पर्सामा मानव बेचबिखन र बालविवाहका आरोपी एक-एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र बालविवाहजस्ता गम्भीर अपराधमा संलग्न एक–एक जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

असार ४ गते बुधबार बिहान ११ः४५ बजेको समयमा जिल्ला पर्साको ठोरी गाउँपालिका वडा नं. २, ठोरी बजारबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नं. ८, खर्कटा बस्ने वर्ष ४१ का दिपक खड्का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, खड्काले चार जना व्यक्तिहरूलाई ‘फ्रि टिकट र फ्रि भिसामा दुबई तथा ओमान पठाइदिने’ भन्दै विभिन्न प्रलोभन देखाएर भारततर्फ बिक्री गर्न लाग्दै गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले तत्कालै घटनास्थल पुगी पीडितहरूलाई सकुशल उद्धार गरेको थियो भने खड्कालाई नियन्त्रणमा लिएको थियो।

खड्काविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, गत असार १ गते बिहान ८ बजेको समयमा प्राप्त जाहेरीका आधारमा बालविवाह सम्बन्धी कसुरमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जाहेरीमा उल्लेख भएअनुसार, ती महिलाले आफ्नै छोरीलाई ४ लाख ८० हजार नगद लिई विभिन्न प्रलोभन देखाएर उमेर नपुग्दै आफूभन्दा तीन गुणा बढी उमेरको तथा अन्तरजातीय विवाह गराएको आरोप छ।

सो कार्यमा संलग्न ती महिलालाई नियन्त्रणमा लिई बालविवाह सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै