काठमाण्डौँ । देशका ३२ स्थानमा अत्यधिक धेरै वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।
इलामको कनकाईमा २९८ मिलिमिटर वर्षा भएको छ भने झापाको गौरादहमा २५० मिलिमिटर वर्षा भएको छ । झापाको केचनामा २३४ मिलिमिटर वर्षा भएको छ । यता पाल्पाको जाल्पा भन्ने ठाउँमा २ सय मिलिमिटर वर्षा भएको छ ।
यसैगरी पाल्पाको कुमालगाउँ, मकवानपुरको राजैया, पूर्वी नवलपरासीको डण्डा, दुम्कौली, अर्घाखाँचीको खान्छीकोट, पाल्पाको गैडाकोट, पूर्वी नवलपरासीको सेमरी, लुम्बिनी, पाल्पाको बल्ड्याङगढी, जाल्पा, अर्चले, बाराको कलैया, ललितपुरको लेले, सप्तरीको बरमझैया, झापाको केचना, शनिश्चरे, अनारमनी बिर्ता, गौरादह, बाहुनडाँगी क्षेत्रमा धेरै वर्षा भइरहेको छ । यस्तै विराटनगर एयरपोर्ट, उदयपुरको सुन्दरपुर, मोरङको बाहुनी, इलामको कन्याम चिया बगान, कन्काई मैनाचुली, पर्साको मुडली पर्सामा धेरै वर्षा भइरहेको छ ।
विभागको देशभर २७२ वर्षा मापन केन्द्र रहेको छ । ३२ मापन केन्द्र रहेका स्थानमा धेरै वर्षा भएको छ भने अन्य मापन केन्द्रले सामान्य वर्षा भएको आँकडा दिएको छ । काठमाडौँ आसपास रहेका मापन केन्द्र अनुसार कीर्तिपुरमा १३६ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा ११३ मिलिमिटर वर्षा भएको छ ।
ललितपुरको खुमलटारमा १२२ मिलिमिटर, काठमाडौँको पानी पोखरी क्षेत्रमा ८९ मिलिमिटर, बबरमहलमा १०२ दशमलव ८ मिलिमिटर, बुढानीलकण्ठमा ९४ मिलिमिटर, धाप ड्याम क्षेत्रमा ९१ दशमलव ४ मिलिमिटर, भक्तपुरको नगरकोटमा १०१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
यो साता सबैभन्दा धेरै दोधारा चाँदनीमा बुधबार ६२४ मिलिमिटर धेरै वर्षा भएको जल तथा मौसम विभागको भनाइ छ ।
नदी तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई विभागले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।