ट्रेन्डिङ

यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा, श्रीमती पनि प्रतिवादी

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको अनुसन्धानले गौतमले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखाएको छ।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार, गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले २०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा बढी सम्पत्ति आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ।

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन गौतमले आफ्नी श्रीमती सरला नेपालको नाममा राखेको पाइएको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले गौतमको स्रोत नखुल्ने सम्पत्ति जफत गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही अघि बढाउन बिगोदाबी कायम गरी आरोपपत्र दायर गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै