बारा । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर यादवले कलैयास्थित यातायात व्यवस्था कार्यालय, बारामा व्यापक जनगुनासोपछि आकस्मिक छड्के अनुगमन गरेका छन्।
कार्यालय प्रमुख र कर्मचारीहरू समयमा उपस्थित नहुने तथा सेवा प्रवाहमा ढिलासुस्ती गर्ने गरेको भन्दै सेवाग्राहीबाट चर्को विरोध र असन्तुष्टि बढेपछि मन्त्री यादवले यो कदम चालेका हुन्। मन्त्री यादवसँगै नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियार र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी पनि अनुगमनमा सहभागी थिए।
लामो समयदेखि यातायात कार्यालयमा सेवाग्राहीले सास्ती भोग्दै आएका थिए। कर्मचारीहरू समयमा नआउने, ढिलासुस्ती गर्ने र सेवाग्राहीलाई अनावश्यक कुरामा अल्झाउने गरेको गुनासो व्यापक थियो। यस विषयमा मन्त्रालय र मन्त्रीको ध्यानाकर्षण भएपछि मन्त्री यादवले जनताको आवाज सुनेर तत्काल आवश्यक कदम चालेका हुन्।
अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयको अवस्था र कर्मचारीहरूको कार्यशैलीबारे जानकारी लिएका थिए। उनले समयमै कार्यालय नआउने र सेवा प्रवाहमा ढिलासुस्ती गर्ने कर्मचारीहरूमाथि आवश्यक कारबाही गरिने चेतावनी दिए ।
सेवाग्राहीहरूले मन्त्रीको छड्के अनुगमनपछि आगामी दिनमा कलैयास्थित यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहमा सुधार आउने र आफूहरूले सहज रूपमा सेवा पाउन सक्ने अपेक्षा गरेका छन्।