रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले किसानलाई धानबाली लगाउने बेलामा मलखाद्य उपलब्ध गराउन नसकेर सरकारले ‘अपराध’ गरिरहेको आरोप लगाएका छन्।
उनले सरकारलाई ‘किसानमारा’ को संज्ञा दिँदै किसानका आँसुले पोल्ने बताए । रौतहटको कटहरियामा आज बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले मल नदिएर सरकारले किसानलाई ‘जिउँदै मारिरहेको’ बताए।
‘अहिले धानबाली लगाउने महत्त्वपूर्ण समय छ। यो कुरा सरकारमा बस्नेहरूलाई पनि थाहा छ। किसान अहिले मलखाद्य, बीउबिजनको जोहो गरिरहेका छन्,’ साहले भने, ‘तर यो अन्धो सरकारले किसानको पीडा देखिरहेको छैन। किसानलाई मलखाद्य, बीउबिजन उपलब्ध गराउने जिम्मेवारी केन्द्रीय सरकारको हो, तर किसानको बारेमा गफ मात्रै दिइरहेको छ, मलखाद्य उपलब्ध गराउन सकेको छैन।’
अध्यक्ष साहले वर्तमान सरकार जनताको समस्या र चाहना बुझ्न पूर्णरुपमा असफल भइसकेको दाबी गरे। ‘बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरू नै खुसी देखिएका छन्, तर किसान र सर्वसाधारण निराश भएका छन्,’ उनले भने। उनले बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको आरोप लगाए।
आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा लगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो।